हिमाल आरोहणका क्रममा १६ को मृत्यु

विभाग भन्छ, ‘मृत्युको कारण ट्राफिक जाम होइन’

  • | आइतबार, १२ जेष्ठ, २०७६
  • | 1 year ago

काठमाडौं । हिमाल आरोहणका क्रममा यस वषको याममा १६ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार आरोहण अनुमति खुल्ला भएकामध्येमा चारवटा हिमाल आरोहणका क्रममा १६ आरोहीको मृत्यु भएको हो ।

 

सगरमाथा आरोहणका क्रममा ८, मकालु हिमाल आरोहणमा ४, कञ्चनजंघा हिमाल आरोहणमा ३ र ल्होत्से आरोहणमा १ जना गरी १६ आरोहीको मृत्यु भएको हो ।
सगरमाथा आरोहणका क्रममा दुई नेपालीको समेत मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।
नेपाली आरोही ध्रुव विष्ट र गाइड नेमा तेन्जीको मृत्यु भएको हो । विष्टको आरोहणका क्रममा चुचुरोमा पुग्नुअगावै हाई अल्टिच्युटका कारण विष्टको मृत्यु भएको थियो भने मकालु आरोहणका क्रममा गाइड तेन्जीको मृत्यु भएको हो ।

 

पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार विभिन्न हिमाल आरोहणका क्रममा गत वर्ष पनि धेरै आरोहीको मृत्यु भएको थियो ।
वसन्त ऋतुमा ३२ हिमालका लागि १ सय १६ आरोहण अनुमतिमार्फत ८ सय ९५ जनाले हिमाल आरोहणको अनुमति लिएका थिए ।
३२ हिमाल आरोहण अनुमतिबाट मात्रै ४९ करोड ५९ लाख ८६ हजार ६ सय २२ रुपैयाँ रोयल्टी जम्मा भएको छ ।

 

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ३ सय ६७ विदेशी र १४ नेपाली गरी जम्मा ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए । आरोहण अनुमति लिएका पर्यटकका साथमा शेर्पा गाइड तथा भरियाहरु गरी ६ सयभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

 

विभागले सगरमाथा आरोहणका क्रममा पर्यटकको मृत्यु भएको घटना पर्वतारोहीको चापले मात्रै नरहेको स्पष्ट पारेको छ । उक्त क्षेत्रमा अत्यधिक चाप भएको र त्यसले गर्दा पर्वतारोहीको मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउन थालेपछि पर्यटन विभागले आइतबार वक्तव्य जारी गर्दै उक्त कुराको खण्डन गरेको हो ।

 

विभागले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पछिल्लो अनुकूल मौसम २१ मे देखि २४ सम्म भनिए पनि २१ मे मा आरोहण योजना बनाएका अधिकांश आरोही द्रुत हावाका कारण चौथो आधार शिविरमा दुई रात बस्न बाध्य भएको अवस्थाबारे यस क्षेत्रसँग सम्बन्धित सबैलाई जानकारी रहेकै छ । योसमेत कारणले २२ र २३ मे मा सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भए पनि मृत्यु भएका आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चापमात्र हो भन्ने धारणा राखी प्रचार गरिनु दुःखपूर्ण छ ।’