गुठी विधेयक फिर्ता लिन ध्यानाकर्षण

  • | बुधबार, २९ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

बैठक शुरु हुने बित्तिकै सांसदहरुले विधेयक फिर्ता लिन माग गरेका हुन् । सांसदहरुले काठमाडौंका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै माग पूरा गर्नसमेत ध्यानाकर्षण गराए ।

 

कांग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न आग्रह गरे ।  उनले प्रस्तावित विधेयकमा पुस्तौँ पुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपतिजनक रहेको बताए ।

 

राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले प्रकाशित गरेको स्थानीय तह कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।