आज बकर इद मनाइँदै

  • | सोमबार, २७ साउन, २०७६
  • | 5 days ago


काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज मनाइँदैछ ।  इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यसलाई इद उल अजहा पनि भनिन्छ ।

 

यस दिन मुस्लिम धर्मावलम्बीहरुले विहानै मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

 

नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान दिने चलन छ ।
कुर्बान दिएको मासु लाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

 

इद आजदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले कुर्वान दिनुपर्ने धार्मिक विधान छ । हिजरी संवत् अनुसार एक हजार ४ सय ३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
पर्वका अवसरमा प्रदेश नम्बर २ र ५ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।

 

इदका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत प्रमुख दलका नेताहरुले शुभकामना दिएका छन् ।