दरबन्दी थप गर्न माग

  • | मंगलबार, ३१ बैशाख, २०७६
  • | 5 days ago


काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले १ सय २७ जना सरकारी वकिलसहित २ सय ४५ जनाको दरबन्दी थप गर्न माग गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयताको कार्यान्वयनसँगै सरकारी वकिलहरुको कार्यबोझमा बृद्धि भएको भन्दै दरबन्दी थप गर्न सरकारसँग माग गरेका हुन् ।

 

उनले विगत ५ वर्षयता सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपिएको बताए ।  महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा हाल सरकारी वकिल ४ सय ४० सहित १ हजार ५०४ जनाको दरबन्दी रहेको छ ।

 

अन्य जनशक्ति नथप्दा सरकारी वकीलहरुले आफ्नो कार्य सम्पादन गर्न नसक्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।  महान्यायाधिवक्ताको कार्यालयले हिरासत र कारगारको क्षमता विस्तार र स्तरोन्नतिको काम गर्न पनि सरकारलाई सुझाव दिएको छ । महान्यायाधिवक्ता खरेलले चालू आर्थिक वर्षमा २४ जिल्लाको ३७ वटा हिरासत कक्ष र १९ वटा कारागार तथा १ बाल सुधार गृहको अनुगमन गरिएको बताए ।

 

यस्तै कारागार र हिरासत तत्काल सुधारका लागि सरकारका सम्बन्धित निकायलाई जानकारी गराइएको समेत पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।
महान्यायाधिवक्ताको कार्यालयले कार्यालय परिसरभित्रै शिशु स्याहार केन्द्र पनि सञ्चालनमा ल्याएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार कार्यालयका कर्मचारीका शिशुहरुको स्याहारका लागि संचालनमा ल्याइएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन् ।