नेपालद्वारा मलेसिया ३४ रनले पराजित

  • | मंगलबार, ७ फागुन, २०७५
  • | 3 months ago


काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा मलेसियालाई नेपालले ३४ रनले पराजित गरेको छ ।
थाइल्याण्डको बैककमा सोमबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय २६ रन बनायो ।

बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो ।
नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन । त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो । त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुवीना क्षेत्रीले नेपालको पारीलाई अगाडी बढाउन कोसीस गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुवीना क्षेत्रीले अविजीत ३३ रनको योगदान गरिन ।

 

जवाफमा मलेसिया २० ओभरमा सात विकेट गुमाउँदा ९२ रनमा रोकियो । नेपालले मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो । उसको स्कोर ५ रन हुँदा पहिलो विकेट लिन सफल भयो भने १० रन हुँदा दोस्रो विकेट झा¥यो ।

उसकी ओपनर यस्रिना याकोव ५ रनमा आउट भइन भने सोइ एईलाई खाता खोल्न नपाउँदै रनआउट भइन । त्यसपछि तेस्रो विकेटका लागि मलेसियाले ४३ रनको साझेदारी गर्दै सम्हालिने प्रयास गरेको थियो । तर उसको स्कोर ५३ रन हुँदा क्रिस्टियन बारेटलाई करुण भण्डारीले २१ रनमा आउट गरिन ।

त्यसपछि उसले अरु १२ रन थप्दा २ विकेट गुमायो । जसमा कप्तान विनफ्रेइड १८ रनमा आउट भइन भने मासा इलीसा मात्र ६ रनमा पेभेलियन फर्किइन । यस्तै वान जुलीया पनि मात्र ८ रनमा आउट भएपछि उसको स्कोर ७६ रन थियो । त्यसको लगत्तै जामीका अज्मी पनि मात्र तीन रनमा पेभेलियन फर्किइन ।

बलिङमा नेपालका लागि करुणा भण्डारी र सरिता मगरले दुई÷दुई विकेट लिए । छनोटमा प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ ।