आईसीसी यूयू–१९ विश्वकप छनोटमा नेपालको शानदार शुरुवात

  • | शुक्रबार, २९ चैत, २०७५
  • | 2 months ago


काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोटमा नेपालले शानदार शुरुवात गरेको छ ।  शुक्रबारको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनाएको थियो ।  कप्तान रोहित कुमार पौडेल सतक बनाउनबाट मात्र ५ रनले चुक्न पुगे ।
१८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए ।
उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए ।  जसमा पवनले ४७ रन बनाए । रित गौतम तीन रनमा र आशिफ शेख मात्र आठ रनमा आउट भएपछि नेपालले १९ रनमा दुई विकेट गुमाएको थियो ।

 

नेपालका लागि भिम शार्कीले २६ तथा कुशल मल्लले १० रन बनाएका थिए ।  सातौ विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पु¥याए ।
रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो । त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । उनी सतक बनाउनबाट मात्र ५ रनले चुके । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुँदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन् ।

 

जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भएको थियो । नौ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो ।
उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपालका लागि रासिद खान र कुशल मल्लले चाब्रियालाई दुई रनमा रन आउट गरे ।
त्यसपछि नेपालले सिंगापुरको स्कोर १४ रन हुँदा दोस्रो विकेट लिन सफल भएको थियो । उसका कप्तान अमन देसाईलाई ब्यक्तिगत एक रनमा कुशल मल्लले आउट गरेका थिए ।
सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर २४ रन हुँदा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । ओपनर भेनुगोपाल १८ रनमा आउट भए ।

 

त्यसपछि सिंगापुरले स्कोरबोर्डमा अरु ५ रन थप्दा नेपालले चौथो विकेट लियो । उसका सिंगावीलाई सौरभ ढकालले रनआउट गरे । त्यसपछि नेपालका रासिद खानले सिंगापुरको ५ औं विकेट लिन सफल भएका थिए ।

 

सो बेला उसका स्कोर ४२ रन थियो । त्यसको लगत्तै सिंगापुरको स्कोर ४५ रन हुँदा नेपालले छैटौ विकेट लिएको थियो ।
पवन सराफले राहुल शर्मालाई खाता खोल्न नदिइ आउट गरे । त्यसपछि फेरी पवनले नै नेपाललाई सातौ सफलता दिलाए । उनले श्रीदेवलाई मात्र एक रनमा आउट गरे । कसिलो बलिङ गरेको नेपालका सुर्य तामाङले २७ औं ओभरमा सिंगापुरको लगातार दुई विकेट लिएका थिए ।