कोपा अमेरिका : उपाधि ब्राजिललाई

  • | सोमबार, २३ आषाढ, २०७६
  • | 1 week ago


एजेन्सी । कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले उपाधि जितेको हो ।

 

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा ग्याब्रियल जेससले एक गोल, एक एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको छ ।
पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा जगाएका थिए । जित भने दिलाउन सकेनन् ।
खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

 

उनले जेससको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा पेरुले पेनाल्टी पायो । टियागो सिल्भाले डि एरियामा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई पाउलो गुएर्रोले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।
इन्ज्युरी समयमा जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि २–१ को अग्रता दिलाए ।
खेलको ७० औं मिनेटमा कार्लोस जाम्ब्रानोलाई फाउल गरेका कारण जेससले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ब्राजिल बाँकी २० मिनेट १० खेलाडीमा झरेको थियो ।

 

९० औं मिनेटमा जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पायो ।  पेनाल्टीलाई सब्स्टिच्युट खेलाडी रिचार्डलिसनले गोलमा परिणत गर्दै ब्राजिलले उपाधि जित्यो ।