कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

  • | सोमबार, २७ जेष्ठ, २०७६
  • | 2 months ago

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध गरेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सोमबारको बैठकमा कांग्रेस सांसदहरुले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेका थिए ।

 

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक–पटक बैठक चलाउन खोज्नु भएपनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।


तर दोस्रो पटक पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको हो ।
निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ । सोमबारको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।