सिके राउतले बोलाए स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय बैठक

  • | बिहीबार, ३० फागुन, २०७५
  • | 1 week ago


काठमाडौं । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ ।  सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले यही चैत ४ र ५ गते गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् ।

 

उनले बिहीबार ट्विट मार्फत सो कुरा जनाएका हुन् । बैठक जनकपुरमा हुनेछ । सरकारसँग सहमति भएपछि पनि स्वतन्त्र मधेसको नारा उनका कार्यकर्ताले लगाएको भन्दै सर्वत्र आलोचना भइरहेकै बेला राउतले आफ्नो संगठनको बैठक बोलाएका हुन् ।
राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ ।

 

सरकारसँग सहमति गरेको दोस्रो दिनमै गृहनगर जनकपुर पुगेका राउतको गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
सो क्रममा पुरानै शैलिमा ‘स्वतन्त्र मधेश’ लेखिएका ब्यानर तथा नारा गुञ्जिएको भन्दै राउतले सरकारलाई झुक्याएको र पुरानै अवस्थामा रहेको भनि टिप्पणी हुन थालेको छ ।