भ्रष्टाचार आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपतिले गरे आत्मसमर्पण

  • | शुक्रबार, २७ बैशाख, २०७६
  • | 2 months ago


एजेन्सी । ब्राजिलका पूर्व राष्ट्रपतिले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। पूर्वराष्ट्रपति मिसेल टेमेअरललाई विरुद्ध भ्रष्टाचार आरोप लागेको थियो ।
प्रहरीले साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखेको छ ।

 

पूर्व राष्ट्रपति मिसेल टेमेअर गत मार्च महिनामा पनि चार दिन हिरासतमा राखिएका थिए । तर उनले हालेको बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि उनी हिरासत मुक्त भएका हुन्।

 

बुधबार एउटा अदालतले उनलाई पुनः जेल चलान गर्न आदेश दिएको थियो ।  उक्त न्यायिक आदेशको पालना गर्दै पूर्व राष्ट्रपति टेमेअरले स्वेच्छिक रूपमा आफूलाई अधिकारीहरू समक्ष प्रस्तुत गरेका हुन्।

 

उनको कार्यकाल गत वर्षको अन्त्यमा सकिएको थियो । उनीविरूद्ध भ्रष्टाचार गरेको, घुस लिएको र आपराधिक संगठनको नेतृत्व गरेको जस्ता कैयौँ अभियोग सहित छवटा दण्डनीय मुद्दा छन्।

 

बीबीसीका अनुसार आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका पूर्व राष्ट्रपति टेमेअरले अदालतको आदेश खेदजनक भएको टिप्पणी गरेका छन् ।
त्यस निर्णयविरूद्ध माथिल्लो अदालतमा जाने उनको भनाइ छ ।

 

भ्रष्टाचारको अनुसन्धानका क्रममा लुला दा सिल्भापछि गिरफ्तार हुने उनी ब्राजिलका दोस्रा पूर्व राष्ट्रपति हुन्।