प्रधानमन्त्री निवास अगाडि विवेकशील साझा पार्टीको प्रदर्शन

  • | सोमबार, २ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । विवेकशील साझा पार्टीले सोमबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । प्रधानमन्त्री निवासको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रदर्शन गरेको हो ।

 

पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रदर्शन गर्नुपरेको बताएका छन् ।

 

विरोध प्रदर्शनको माध्यामबाट भ्रष्टाचारी र विचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाव दिइएको बताए । प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोराको नाममा किनिएको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रदर्शन शुरु गरेको हो ।

 

प्रदर्शनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ? सिंहदरबार जता छ’ लेखिएका प्ले–कार्डहरुसहित प्रदर्शन गरिएको थियो ।