भक्तपुरमा आउने पर्यटकको संख्या बढ्यो

  • | मंगलबार, ३१ बैशाख, २०७६
  • | 2 months ago


भक्तपुर । पछिल्लो समय भक्तपुरमा आउने पर्यटकको संख्या बढेको छ ।  पर्यटकको संख्या बढेसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ ।
भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको संख्या २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८ सय ३४ ले बढेको नगरपालिका पर्यटन सूचना केन्द्रले जनाएको छ ।

 

विसं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५ सय ३० र अन्य राष्ट्रका एक लाख २५ हजार ४ सय ९९ पर्यटक गरी दुई लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ ।

 

२०७५ सालमा भने सार्क तथा चीनका एक लाख १५ हजार ९ सय ६ र अन्य राष्ट्रका एक लाख ३७ हजार ९ सय ५७ गरी दुई लाख ५३ हजार ८ सय ६३ पर्यटकले आगमन भएको छ ।

 नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक पाँच सय र अन्य राष्ट्रका पर्यटकबाट प्रति पर्यटक एक हजार पाँच सय पर्यटन शुल्क लिँदै आएको छ ।

 

पर्यटन शुल्कबापत नगरपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट पाँच करोड ७९ लाख ५३ हजार रुपैयाँ र अन्य राष्ट्रका पर्यटकबाट २० करोड ६९ लाख ३५ हजार ५ सय रुपैयाँ गरी कूल २६ करोड ४८ लाख ८८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।