एसीसी यू–१६ को उपाधि नेपाललाई

  • | आइतबार, १५ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि नेपालले हात पार्न सफल भएको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले मलेसियालाई फाइनलमा ५९ रनले हराएको हो ।

 

नेपालले ३५ ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनाएको थियो । २० रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रनमा तीन विकेट झार्न पुग्यो ।
सुसान्त थापा ५ रनमा आउट भए भने आशिष भट्टराई दुई तथा दिपक बोहोरा २३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान विशाल विक्रम केसी १७ रनमा आउट भएपछि नेपालले ६८ रनमा चार विकेट खेर फाल्यो ।

 

पाँचौ विकेटका लागि रोहन दुधराज विक र प्रशान्त महतले नेपालका पारीलाई सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।
रोहन नौ रनमा आउट भएका थिए । त्यसपछि विशालकुमार पटेल दुई रनमा आउट भए भने प्रशान्त महत ४० रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय ६ रनमा सात विकेट गुमायो ।

नेपालको स्कोर एक सय २२ रन हुँदा आठौं विकेट झरेको थियो ।  क्रिस कार्की नौ रनमा आउट भए भने निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किएका थिए । जसका कारण नेपालले एक सय ३१ मा नौ विकेट खेर फाल्यो । अन्तत नेपालले एक सय ४१ रनको लक्ष्य दियो ।

 

जवाफमा मलेसिया ३४ ओभर ५ बलमा ८१ रनमा अलआउट भयो । उसका तीन खेलाडीलेमात्र दोहोरो अंक छुन सके । मलेसियाले नौ रनमा पहिलो विकेट गुमायो । उसका किशन कुमार खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि २२ रन हुँदा सिद्धार्थ कार्तिक चार रनमा पेभेलियन फर्किए । त्यसका लगत्तै अर्का खेलाडी वान मुहम्मद अजाम पनि १६ रनमा पेभेलियन फर्किएपछि नेपालले तेस्रो विकेट लिन सफल भएको थियो ।
नेपाल बलरसामु निरिह देखिएको मलेसियाको स्कोर ३४ रन हुँदा लोकमन नुर साहर ५ रनमा आउट भए । त्यसको लगत्तै वान अहमद पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपालले पाँचौ सफलता हात पार्यो ।

 

समुह चरणमा पनि नेपालसँग नै पराजित भएको मलेसियाको स्कोर ४१ रन हुँदा ६ विकेट झर्यो । उसका अहमद अकिल अलिफ तीन रनमा आउट भए । त्यसको लगत्तै ४२ रन हुँदा सर्भिन आठ रनमा पेभेलियन फर्किए ।
आठौं विकेटका लागि मुहम्मद हाजिक र जितेन्द्र मुर्लेले २८ रनको साझेदारी गरेका थिए । तर हाजिक १८ रनमा आउट भएपछि नेपालले आठौं विकेट लियो । बलिङमा नेपालका विशालकुमार पटेलले चार तथा दीपक बोहोराले ३ विकेट हात पारेका थिए ।