आवुधाबीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन जना नेपाली

काठमाडौं । यूएईको आवुधाबीमा श्रमिक चढेको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये तीन जना नेपाली रहेको खुलेको छ ।
दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।
एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान साढे ५ बजे गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अवुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई रहेका छन् ।
त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन ।
मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आवुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ यूएइस्थित नेपाली दूतावासले जनाएको छ ।